काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनका लागि शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीकका रूपमा र रक्षा बन्धनलाई आत्मीयजनबीचको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा उल्लेख गरे । उनले ऋषि तर्पणीलाई प्राचीन विद्वानहरूको ज्ञानदीप र मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरूप मनाइने बताए ।
‘वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्,’ ओलीले भने, ‘यी पर्वहरूले हाम्रो सांस्कृतिक परम्परा, सामाजिक एकता र आत्मिक सम्बन्धलाई सुदृढ बनाएका छन्।’
शुभकामना सन्देशको अन्त्यमा उनले भने, ‘सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना ! सबैको जय होस् ।’