काठमाडौं । सरकारले निजामती कर्मचारी (सिभिल) अस्पतालको निर्देशकमा गैरकानूनी रुपमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त गरेको भन्दै विभिन्न निकायमा उजुरी परेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्थायी प्राध्यापक रहेका डा. रेग्मीलाई प्रतिष्ठानको नियमविपरित सिभिल अस्पतालको कार्यकारी निर्देशक बनाइएको भन्दै उजुरी परेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा साउन २० यता परेको उजुरीमा रेग्मीमाथि तत्काल छानविन गरी निलम्बन गर्न माग गरिएको छ ।
उजुरीमा भनिएको छ–‘प्रतिष्ठानबाट बिरामी बिदा, घर बिदा, पर्व बिदा तथा बेतलवी बिदा लिएर सिभिल अस्पतालमा २ वर्षदेखि काम गर्दै आएका डा. रेग्मी प्रतिष्ठानको नियम विपरित निजामती अस्पतालको कार्यकारी निर्देशक बनेका हुन् ।’
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अब्सटेट्रिक्स एण्ड गानेकोलोजी विभागमा प्रोफेसर पदमा कार्यरत रेग्मी प्रतिष्ठानको स्थायी जागिरे हुन् ।
निजामती कर्मचारी अस्पताल विकास समितिको २०८१ फागुन २८ गते बुधबार बसेको बैठकले डा. रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
निर्देशक हुनु अघि सिभिल अस्पतालमै कार्यरत डा. रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।
सिभिल अस्पतालको कार्यकारी निर्देशकका लागि रेग्मीसहित डा. रुद्र मरासिनी र डा. प्रमोद यादवको नाम सिफारिस गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित सिफारिस समितिले एक नम्बरमा डा. यादव, दुई नम्बरमा डा. मरासिनी र तीन नम्बरमा डा. रेग्मीको नाम सिफारिस गरेको थियो ।
तर, एक र दुई नम्बरका आवेदकलाई पाखा लगाएर रेग्मीले निर्देशकमा बाजी मारेका थिए ।