काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरातल छाडेर ‘हावादारी गफ’ दिएको आरोप लगाएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले यस्तो प्रवृत्तिले देशलाई बर्बादीतिर धकेलेको दाबी गरे ।
उनले भने, “गफ दिँदा जे बोले पनि हुन्छ, तर जनताले यथार्थ थाहा पाएका छन्। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभयो, जसका कारण देश बर्बाद भएको छ ।”
दाहालले प्रधानमन्त्री ओलीले सदनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको विषय उठाएकोमा पनि असन्तुष्टि जनाए। “टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ। उहाँले त्यसलाई मात्र इस्यू बनाउनुभयो, त्यो बेठिक हो,” प्रचण्डले टिप्पणी गरे ।