काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबिच कार्यसम्पादन सम्झौता भएको छ ।
आज मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्तिका लागि लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए ।
मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोही अनुसार लक्ष्य निर्धारण गरी कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूलाई निर्देशन दिए ।
यस्तै सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरी कार्यसम्पादन गर्न उनको निर्देशन छ ।
गत साउन २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताप्रति आदानप्रदान गरिएको थियो ।
लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौता पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।
प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने हुन्छ, सोहि आधारमा यातायात मन्त्री दाहाल र सचिव शर्माबिच सम्झौता भएको हो ।