काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले भावनामा आधारित लोकप्रियता (पपुलारिज्म) छोटो समयमा जनसमर्थन जुटाउने तर दीर्घकालीन रूपमा विनाशकारी हुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको राजनीतिक यात्रा त्यसको स्पष्ट उदाहरण भएको उल्लेख गरेका हुन् ।
बस्नेतले लेखेका छन्, “हास्यकलाकार र टेलिभिजन नायकको भूमिकाबाट चर्चित बनेका जेलेन्स्की भ्रष्टाचारविरोधी नारा र लोकप्रिय छविका आधारमा सत्तामा पुगे। प्रारम्भिक दिनमा उनले ठूलो जनसमर्थन पाए। तर अनुभव र रणनीतिक क्षमताको अभावमा मुलुकलाई संकटबाट जोगाउन नसकेको आरोप उनीमाथि लागेको छ।”
उनका अनुसार आज युक्रेन रसियासँगको युद्धले ध्वस्त भएको छ, झण्डै २० प्रतिशत भूभाग गुमाइसकेको छ र खर्बौं डलर बराबरको क्षति पुगेको छ । युद्धमा लाखौं नागरिक र सैनिकले ज्यान गुमाइसकेका छन् भने अर्थतन्त्र धरासायी भई देश कंगाल अवस्थामा पुगेको उनले जिकिर गरेका छन्।
बस्नेतले थपे, “पपुलारिज्म क्षणिक रूपमा आकर्षक देखिए पनि यसको दीर्घकालीन परिणाम विनाशकारी हुन्छ। युक्रेनको वर्तमान अवस्था त्यसकै परिणाम हो।”
नेपालका सन्दर्भमा उनले जनतालाई चेतावनी दिँदै भावनामा बगेर मात्र लोकप्रिय नेताको रोजाइ गर्नु खतरनाक हुने बताए । अनुभव, नीति र दूरदृष्टि भएका सक्षम नेतृत्वलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।