काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिनेछ ।
विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन् । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।
दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ । एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ ।