काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर घटनासम्बन्धी सर्वोच्च अदालतको हालसालैको परमादेशबारे ध्यानाकर्षण भएको बताउँदै निष्पक्ष र तटस्थ छानबिनलाई समर्थन गर्ने तर राजनीतिक प्रतिशोधमा आधारित कारबाही अस्वीकार्य हुने चेतावनी दिएको छ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बुधबार राजधानीको थापागाउँमा बसेको बैठकले २०६३ सालको गौर घटनाबारे गठित विभिन्न आयोगका प्रतिवेदन अझै सार्वजनिक नभएको स्मरण गराउँदै छानबिनका निष्कर्ष तथ्यमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएको छ।
मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगले तीन वर्षअघि सार्वजनिक गरेको प्रतिवेदनलाई उद्धृत गर्दै, जिम्मेवार निकायको उदासीनताले घटनाको वास्तविक कारण स्पष्ट भएको भन्दै सो प्रतिवेदनलाई छानबिनको आधार बनाउनुपर्नेमा जोड दिएको छ।
त्यसैगरी बैठकले रूपन्देही क्षेत्र नं. ३ मा हुने आगामी उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको जनाएको छ। प्रचार–प्रसार र निर्वाचन परिचालनको जिम्मेवारी भने मोर्चाको सचिवालयलाई तोकिएको विज्ञप्तिमा भनिएको छ ।