कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गर्न खोजिएको आरोप लगाएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ( गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
प्रतिनिधिसभाका सत्तासीन ठूला दलहरूले खाली कागजमा आफ्ना सांसदहरूलाई हस्ताक्षर गराएका छन् । प्रचण्डले यो कदम संवैधानिक परिषद्बाट संवैधानिक निकाय कब्जा गर्नको लागि चालिएको बताए ।
“अहिले संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गरेर जसलाई मन लाग्यो त्यसलाई नियुक्ति गर्ने र जसलाई मन लाग्यो त्यसलाई सिध्याउनका लागि उपसभामुख निकाल्ने कसरत चलिरहेको छ । एमाले–कांग्रेसले उपसभामुख घटाएपछि संवैधानिक परिषद्मा आफ्नो बहुमत हुने र जे मन लाग्यो त्यही निर्णय गर्न पाउने भनेर अघि बढिरहेका छन्,” उनले भने ।
प्रचण्डले मंसिरपछि देशमा ठूलो सडक आन्दोलन गर्ने चेतावनी दिए ।