काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो ।
निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ ।
साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।
सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ ।