Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा विधेयक प्रतिनिधिसभामा पेश, चैतमा भन्दा ठूलो आन्दोलन चर्काउने महासंघको चेतावनी

शिक्षा विधेयक प्रतिनिधिसभामा पेश, चैतमा भन्दा ठूलो आन्दोलन चर्काउने महासंघको चेतावनी

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । शिक्षासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभा सांसदमा पेस भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको हो । बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।

समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए ।

सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका बिषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ । उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट बञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको पनि धारणा राखे ।

सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दवाव आएपनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दवावलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर गरे ।

यता, शिक्षक महासंघदेखि निजी विद्यालयका सञ्चालहरुले भने त्यसको विरोध गरिरहेका छन् । शिक्षक महासंघले आन्दोलनका कार्यक्रमण नै घोषणा गरिसकेको छ भने निजी विद्यालयका सञ्चालकहरुले प्रदर्शन नै सुरु गरिसकेका छन् ।

विद्यालय शिक्षा विधेयकमा समेटिएका केही प्रावधानप्रति असन्तुष्ट जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

स्कुल बसमा कालो झण्डा र ब्यानरसहित चक्रपथ परिक्रमापछि उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

निजी विद्यालयले अति विपन्न र गरिबलाई ३ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव प्रतिनिभिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले पारित गरेको छ । तर, निजी विद्यालय सञ्चालकहरू पूर्ण छात्रवृत्ति दिने पक्षमा छैनन् ।

यसअघि बिहीबार पनि निजी विद्यालय सञ्चालकहरू माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

यता, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार पास गरेको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आन्दोलनको घोषणा गरिसकेको छ ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।

भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।

भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा गत चैतमा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

गत चैत २० देखि २९ दिनसम्म महासंघले विद्यालय ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुवेदीले शिक्षकहरूलाई जबर्जस्त स्थानीय तहमा राख्न खोजिएको आरोप लगाए । उनले भने–‘स्थानीय तहमा माध्यमिक तहको शिक्षा एकल अधिकार सूचीमा रहेपनि माध्यमिक शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा अहिले पनि छैन । कक्षा १० र १२ को परीक्षा स्थानीय तहले लिदै छ ? छैन।’

शिक्षकको विभागीय कारबाही र दरबन्दी हस्तान्तरण स्थानीय सरकारलाई दिन नहुने माग महासंघको छ । ‘शिक्षकको कार्यसम्पादन मुल्याङ्कन विद्यालय, स्थानीय तह, जिल्ला, प्रदेश हुदै केन्द्रमा रहेको शिक्षक सेवा आयोगबाट हुदै आएको छ। अनि कार्य सम्पादन मूल्याङ्कनको अधिकार बाड्न सकिदैन ? परीक्षाको अधिकार बाड्न सकिने शिक्षकको विभागीय कारबाहीलगायतका दरबन्दी हस्तान्तरण किन हुन नसक्ने ?’ भन्दै अध्यक्ष सुवेदीले प्रश्न समेत गरे ।

निजामती कर्मचारीलाई कुन तहमा बस्ने भनेर रोज्न दिएको तर शिक्षकलाई नदिएकोमा महासंघले असन्तुष्टि जनाएको छ । अध्यक्ष सुवेदीले भने–‘निजामतीमा कर्मचारीको स्थानयि तहमा पठाउदै गर्दा रोज्ने अवसर दिइएको थियो। जो स्थानीय तहमा जाने भनेको थियो एक तह बढुवा गरेको थियो । शिक्षकलाई त्यो खालको प्रबन्ध खोई रु एउटै देशमा एउटा पेशाकर्मीलाई एउटा मापदण्ड अर्कोलाई अर्को मापदण्ड हुदैँन ।’

आफूहरूको माग सम्बोधन नभई विधेयक पास नहुने दाबी महासंघको छ । उनले भने–‘यतिकै पास हुदैन । अहिलेको जसरी पास भयो भने । २०८१–०८२ को भन्दा ठूलो आन्दोलन हुन्छ ।’
गत वैशाख १७ गते भएको ९ बुँदे सहमति समेत कार्यान्वयन नभएको महासंघको भनाइ छ । सुवेदीले भने–‘मन्त्रिपरिषद्ले निर्णय गरेको आजको मितिसम्म कार्यान्वयन भएको छैन । पत्रचार भएको छैन । राज्य सञ्चालक कति इमानदार छ भन्न यो भन्दा अर्को उदाहरण छैन ।’

तर मन्त्री शिक्षामन्त्री रघुजी पन्तले भने समिति बैठकमा बारम्बार ९ बुँदे सहमति कार्यान्वयनमा गएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077