काठमाडौं । गत चैतमा २९ दिनसम्म काठमाडौंमा सडक आन्दोलन गरेर फर्किको नेपाल शिक्षक महासङ्घले आजबाट फेरि आन्दोलन शुरु गरेको छ । विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै महासंघले आजबाट देशव्यापी आन्दोलन सुरु गरेको जनाएको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन् । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।
महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६० प्रतिशत–४० प्रतिशत को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।
अध्यक्ष सुवेदीले शिक्षकहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभएसम्म सडकबाट नफर्किने बताएका छन् ।
महासंघले यसअघि नै आन्दोलनका कार्यक्रमहरु घोषणा गरिसकेको छ ।
महासंघले भदौ ६ गते शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आजबाट आन्दोलन गर्ने जनाएको थियो । जसअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।
भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा गत चैतमा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
गत चैत २० देखि २९ दिनसम्म महासंघले विद्यालय ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो ।