एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग प्रत्यक्ष भेटवार्ता गर्ने इच्छा प्रकट गरेका छन् ।
ओभल अफिसमा दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जाए म्युङसँगको भेटवार्तामा बोल्दै ट्रम्पले यस वर्षभित्रै किमसँग भेट गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।
उनले आफ्नो पहिलो कार्यकालमा सुरु भएको तर निष्कर्षमा नपुगेको आणविक कूटनीतिक संवादलाई पुनःजीवित बनाउन चाहेको स्पष्ट पारेका छन् ।
“म किमसँग भेट्न चाहन्छु, उपयुक्त समयमा भेट्ने प्रतीक्षामा छु,” ट्रम्पले भनेका छन् । सन् २०१८ र २०१९ मा दुई नेताबीच भएका उच्चस्तरीय वार्ताले प्रारम्भिक आशा जगाए पनि ठोस परिणाम नआएको थियो ।
दोस्रो कार्यकालमा प्रवेश गरेका ट्रम्प कूटनीतिक संवादलाई पुनःसञ्चालन गर्दै कोरियाली द्वीपमा शान्ति प्रक्रिया अघि बढाउने प्रयासमा देखिएका छन् ।
यता, किम जोङ उनले भने हालसम्म प्रत्यक्ष वार्तामा विशेष रुचि नदेखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, ट्रम्पको इच्छापछि अमेरिका–उत्तर कोरिया सम्बन्ध फेरि नयाँ मोडमा जाने अपेक्षा गरिएको छ ।