काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पताल भ्रष्टाचार र अनियमितताले थिलथिलो बनेको छ । कहिले टेण्डर त कहिले कर्मचारी नियुक्तिमा आर्थिक अनियमितता भएको भन्दै विभिन्न निकायहरुमा उजुरी परिरहँदा अस्पताल प्रशासन भने मौन छ ।
पछिल्लो समय फेरि अस्पतालको नर्सिङ प्रमुखले अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायहरुमा उजुरी परेको छ ।
नर्सिङ प्रमुखले नर्स भर्नामा समेत अनियमितता गरेको भन्दै उजुरी परेको हो । प्रतिब्यक्ति दररेटका आधारमा नर्सिङ कर्मचारी नियुक्ति सिफारिस गरिएकाले छानबिन गर्न माग गरिएको छ ।
उजुरीमा नर्सिङ प्रमुख संगिता श्रेष्ठले अस्पतालका निर्देशक र उपसचिवको निर्देशन अवज्ञा गर्ने गरेको, सरसफाइसम्बन्धी सामान गुणस्तरहीन खरिद गरी लाभ लिने गरेको आरोप लगाइएको छ ।
उजुरीमा भनिएको छ–‘वीर अस्पतालमा निजी नर्सिङ कलेजबाट प्रयोगात्मक अभ्यास गर्ने सहमति दिंदा कलेजैपिच्छे दररेट उठाएर सो कलेजलाई वीर अस्पतालमा नर्सिङ बिद्यार्थीलाई अभ्यास गराउन दिने गरिएको छ । अस्पतालका स्टोरकिपरहरुसँग कमिसनको भागबण्डा माग्ने गरेको अस्पतालमा विरामीलाई खुवाउने रासनपानीमा समेत ब्यापारीसँग मोलमोलाइ हुने गरेको छ ।’
उजुरीमा अस्पतालमा नर्सिङ र अनमिका लागि आएको सबैजसो तालिममा श्रेष्ठ आफैं जाने गरेको उल्लेख गर्दै श्रेष्ठ कार्यालय समयमै निजी कलेज पढाउन जाने गरेको पनि दावी गरिएको छ ।
यसैबीच, नर्सिङ प्रमुख श्रेष्ठले भने कुनै व्यक्तिले अह्राएको कानून विपरितका काम नगरिदिंदा आफूविरुद्ध उजुरी हालिएको दावी गरिन् ।
अनलाइन नेपालसँग कुरा गर्दै उनले भनिन्–‘मलाई राज्यले जुन काम गर्नका लागि अधिकार दिएको छ, मैले त्यहि काम गर्ने हो । कुनै व्यक्ति विशेषले अह्राएको कानूनविपरितका काम गर्दा मनगणन्ते उजुरी हालिन्छ भने त्यसमा मेरो भन्नु केही छैन ।’
उजुरीमा लेखिएका सबै कुराहरु झुटा भएको दावी गर्दै नर्सिङ प्रमुख श्रेष्ठले भनिन्–‘उजुरीमा नर्सिङ र अनमिका लागि आएको सबैजसो तालिममा गएको भनेर लेखिएको छ, जबकी म आफै ट्रेनिङ दिने व्यक्ति हुँ । अर्को कुरा म न खरिदमा छु न त लेखा शाखामा नै छु । मैले कुनै पनि अनियमितता गरेको छैन र मसँग बाहिर गएर पढाउने समय पनि छैन ।’