काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व गर्न प्रधानमन्त्री नियुक्त भएको केही घण्टामै प्रतिनिधिसभा विघटन गरिएको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्कीको सिफारिसमा शुक्रबार राति ११ बजेदेखि प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको जनाएको छ ।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । साथै, मिति २०८२ साल फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ ।”
प्रधानमन्त्री कार्की निकट स्रोतका अनुसार, प्रतिनिधिसभा विघटन र छ महिनाभित्र नयाँ निर्वाचन गर्ने सहमति हालै सम्पन्न ‘जेनजी आन्दोलन’का प्रतिनिधिहरूसँग भएको समझदारीकै आधारमा गरिएको हो।
यसअघि लामो राजनीतिक अस्थिरताका बीच जेनजी आन्दोलनको दबाबपछि राष्ट्रपति पौडेलले नेपालको संविधानमा निहित विशेष अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
यससँगै अब देश २०८२ फागुन २१ गते हुने आम निर्वाचनतर्फ अघि बढ्ने भएको छ।