Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विपी विचार मर्न सक्दैन : शेखर कोइराला

कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विपी विचार मर्न सक्दैन : शेखर कोइराला

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक वेगवान रूपमा नयाँ दिशातर्फ अघि बढिरहेको भन्दै कांग्रेसले आफ्नो भूमिका समयानुकूल पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शनिबार जारी विज्ञप्तिमा उनले जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारलाई नेपालको राजनीतिमा आएको “नयाँ प्रयोग” भन्दै त्यसलाई सतर्कतापूर्वक हेरिनुपर्ने बताएका छन्।

“मुलुक वेगवान रूपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ। देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ। हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ। नयाँ सरकारले आम नागरिकको भरोसा र विश्वास जितेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु,” उनले भनेका छन्।

डा. कोइरालाले जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र सामाजिक त्रासलाई सभ्य समाजले स्वीकार्न नसक्ने कार्य भन्दै कडा शब्दमा आलोचना गरेका छन् । उनले विशेषगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि घरमै आक्रमण गरी परिवारलाई लक्षित गरिएको घटनालाई “जघन्य अपराध” भन्दै यसको कडा निन्दा गरेका छन्।

“अब हामीसँग आँसु बगाएर समय खेर फाल्ने अवस्था छैन। हामीले विगतका कमजोरी स्वीकार गरेर प्रायश्चित गर्नुपर्छ। समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुनेछ,” कोइरालाले उल्लेख गरेका छन्।

लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतको संघर्षलाई स्मरण गर्दै उनले कांग्रेसले जनताको भरोसालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

भाद्र २४ गतेको आन्दोलनमा आगजनीबाट खरानी बनेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे बोल्दै उनले भने, “कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिँदैन। बीपी विचार मर्न सक्दैन।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077