काठमाडौं । नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको हो ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संसद् विघटनको यो उपक्रम नेपालको संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरित छ, संविधान सम्मत विल्कुल छैन ।'
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समिति बैठकमा सातै प्रदेशका सभापतिहरू, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरूलाई आमन्त्रित रूपमा सहभागी गराइएको थियो ।