काठमाडौं। नेपाल पत्रकार महासंघले संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र संसद् विघटन गरेको भन्दै विरोध जनाएको छ। नेपाल पत्रकार महासंघले आज विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो ।
विज्ञप्तिमालेखिएको छ- 'अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ । महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो । ‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ ।
महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ ।'
