काठमाडौं । विघटित प्रतिनिधि सभाका प्रमुख ८ राजनीतिक सचेतकहरूले संयुक्त रूपमा संसद विघटनको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।
शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ आठै राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ- 'जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा ९७०, सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरित रहेको छ । शनिबार निकालिएको विज्ञप्तिमा भनिएको छ । यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ। तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं।'
यस्तै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन पनि माग गरिएको छ।
हस्तारक्षर गर्नेमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका हितराज पाण्डे, माओवादी केन्द्रका बिरेन्द्र प्रसाद महतो, एकीकृत समाजवादीका मेटमणी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, जनता समाजवादी पार्टीका प्रतिनिधि, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवी रहेका छन्। विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हस्ताक्षर गरेको छैन।