काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालका युवाहरूले देखाएको नागरिक चेतना र श्रमदानको खुलेर प्रशंसा गरेका छन् ।
भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जेनजी आन्दोलनपछि नेपाली युवाहरूले सार्वजनिक स्थल सरसफाइ र पुनर्निर्माणमा गरेको सक्रियता प्रेरणादायी भएको टिप्पणी गरेका हुन् ।
“पछिल्ला दिनमा नेपालका युवा–युवतीहरूले सडक सफा गर्न, रंगरोगन गर्न निरन्तर मिहिनेत गरिरहेको देखिन्छ,” प्रधानमन्त्री मोदीले भने, “मैले सामाजिक सञ्जालमा उहाँहरूको तस्बिर पनि देखेको छु।”
उनले नेपाली युवाको यो कदमलाई नयाँ नेपाल उदाउने संकेतका रूपमा लिँदै भने, “सकारात्मक सोच र सकारात्मक कार्य केवल प्रेरणादायी मात्र होइन, नेपालको उज्ज्वल भविष्यको स्पष्ट परिचायक पनि हो। म नेपाली युवाहरूलाई शुभकामना दिन चाहन्छु।”
जेन(जी आन्दोलनपछिको वातावरणमा देशका विभिन्न सहरमा युवाहरू स्वतःस्फूर्त रूपमा सडक सफाइ, भित्तामा कलात्मक चित्र कोर्ने र क्षतिग्रस्त संरचनाको मर्मत गर्ने काममा जुटिरहेका छन् ।