धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी छोड्दै “नागरिक उन्मुक्ति नेपाल पार्टी” गठन गर्ने घोषणा गरेका हुन् ।
चौधरीले नयाँ दलमार्फत आफ्नो राजनीतिक अभियानलाई अघि बढाउने बताउँदै पुराना साथीहरूलाई पनि नयाँ यात्रामा साथ दिन आग्रह गरे ।
उनले भने, “मलाई साथ दिने साथीहरू जोडिनुहोस् । हिजो मसँग जोडिएका साथीहरू आज पनि जोडिनुहोस्। नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभएकोमा धेरै धन्यवाद।”
आफूलाई पार्टीभित्र समर्थन गर्नेहरूलाई सम्मान गर्दै उनले कुनै व्यक्तिगत दुस्मनी नरहेको प्रष्ट पारे । “मेरो रन्जितासँग कुनै दुस्मनी छैन, मेरो दामोदरसँग पनि कुनै दुस्मनी छैन । मेरो दुस्मनी त यस देशका राष्ट्रिय फटाहहरूसँग हो,” उनले कटाक्ष गरे ।
संसदमा राजीनामा दिएर फेरि फिर्ता हुनेहरूलाई लक्षित गर्दै उनले सम्झौता सम्भव नरहेको बताए । चौधरीले नयाँ दल नयाँ भावना र नयाँ राजनीतिक विचारको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नागरिक उन्मुक्ति पार्टीप्रति आभार प्रकट गर्दै उनले भने, “मैले नै यस पार्टीको गीत लेखेको थिएँ, विधान तयार गरेको थिएँ, विचार स्थापना गरेको थिएँ। तर व्यक्तिगत अहंकार र स्वेच्छालाई जित्न सकिन।”
अन्त्यमा चौधरीले सबैलाई नागरिक उन्मुक्ति नेपाल पार्टीमा स्वागत गर्दै नयाँ अभियानमा हातेमालो गर्न आह्वान गरेका छन्।