काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति भएकोमा सुशीला कार्कीलाई बधाइ दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले कार्कीलाई बधाइ दिएका हुन्।
पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ताले टिप्पणी गर्दै भने–‘हामी नेपालसँग मिलेर पाँच सिद्धान्तको शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउने र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने तत्परता व्यक्त गर्दछौँ।’
चीन–नेपालको मित्रता पुरानो र दृढ रहेको बताएका उनले चीनले सधैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्ने बताएका हुन् ।
यसअघि प्रधानमन्त्री कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतमा निर्वासित जीबन बिताइरहेका दलाई लामा, बाङ्लादेश सरकारमा प्रमुख सल्लाहकार मोहम्मद युनुस, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलगायतले बधाई दिएका छन् ।
त्यसैगरी, नेपालस्थित ब्रिटिस दूतावास, युरोपियन युनियनकी परराष्ट्र तथा सुरक्षा नीतिका सर्वोच्च प्रतिनिधि एवं युरोपेली आयोगकी उपाध्यक्ष काया कल्लास, नेपालस्थित जापानी दूतावास, अमेरिकी दूतावासले पनि बधाइ दिएको छ ।