काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । बाँकेको खजुरा गाउँपालिका ६ घर भएका शर्मामाथि सहकारीको १४ अर्ब हिनामिना गरेको आरोप छ।
सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।
२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।
उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए ।
संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी दिएका थिए। बचतकर्ताको जाहेरी पछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
सहकारी ठगीका साथै उनीविरुद्ध २२ अर्ब भन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो ।
उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्तासहितको टोलीले जेनजी आन्दोलनका क्रममा रवि लामिछानेलाई जेलबाट निकालेपछि अरु ७ सयकैदीबन्दी पनि फरार भएका थिए।
पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।