काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्कालगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको हो ।
गत भदौ २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको बताइएको छ ।
सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।
स्रोत भन्छ–‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ ।’
यसक्रममा शपथ लगत्तै काम सुरु गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने सरकारको तयारी छ ।
प्रधानमन्त्री कार्यालयले राहदानी रोक्काबारे परामर्श गरेर प्रक्रिया समेत अघि बढाएको स्रोतको दावी छ । सरकारले केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार मात्रै अध्यागमन विभाग, राहदानी विभागसँग छलफल गरेको थियो ।
छलफलका क्रममा विभागले राहदानी रोक्काका प्रक्रिया र कानूनबारे ब्रिफिङ गरेको थियो । सो क्रममा विभागले कस्तो अवस्थामा राहदानी रोक्का हुने, त्यसका लागि के–के चाहिने जस्ता विषयहरूबारे जानकारी गराएको थियो ।