काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं निवर्तमान स्वास्थ्यमन्त्री प्रदिप पौडेलले भदौ २३ र २४ गते जेनजीहरुले गरेको आन्दोलन दलहरुकोविरुद्ध नै भएको दावी गरेका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिंदै उनले यस्तो बताएका हुन् ।
अन्तर्वार्तामा उनले भनेका छन्–‘जेनजीहरुको आन्दोलन दलहरु विरुद्ध नै थियो । विरुद्ध हुनै पर्थ्यो । हामीले गरेको परिणाम दिन नसकेको विषय थियो । त्यसैले म एकदम क्षमा मागेर भन्न चाहन्छु कि जेनजीले त्यो कुरा सहि ढंगले उठाएको थियो ।’
सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचनमा जानै नसक्ने दावी गरेका उनले यतिबेला नियमित अधिवेशन नै गर्न सकिने बताए ।
उनले भने–‘अब नेताहरु कुनै न कुनै बहानामा यो नियमित अधिवेशन पनि नगर्ने विशेष अधिवेशन पनि नगर्ने तयारी समिति पनि नबनाउने आफैंलाई लम्ब्याउन चाहनुहुन्छ भन्ने आशंका व्यापक रुपमा बढेको स्थिति छ । त्यो बढ्न नदिनका निम्ति यो छोटो समय छ सम्भव छैन भनेर जुन भनिन्छ त्यो गलत हो । नियमित अधिवेशन गर्न सकिन्छ।’
‘अब नियमित अधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गर्ने होइन। विशेष महाधिवेशनको निर्णय केन्द्रीय कार्यसमितिले गर्दै गर्दैन। विशेष महाधिवेशन त केन्द्रीय कार्यसमितिमा नरहनु भएकाहरुले आफूसँग जे गर्ने अधिकार छ त्यहि गर्ने हो नि।’–उनले थप भनेका छन् ।
त्यसैगरी पूर्वमन्त्री पौडेलले जेनजी अनन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सुरक्षा अंगमाथि नै प्रश्न उठाएका छन् । उनले भनेका छन्–‘राष्ट्रिय सम्पत्तिमाथि आक्रमण हुँदा त सुरक्षा अङ्गको कुनै पनि व्यक्ति, जो सँग बन्दुक छ, त्यसलाई चाहिँ आदेश नचाहिनु पर्ने हो। सिंहदरबार आफ्नै अगाडि जल्यो कसैले आदेश नदिएसम्म जलाउनेमाथि जाई लाग्न मिल्दैन भन्न मिल्छ र ? सिंहदरबार जल्नबाट रोक्नका निम्ति नै उसलाई त्यो जिम्मेवारी दिएको हो नि ।’
राष्ट्रिय सम्पत्ति बचाउनका निम्ति सुरक्षा अंगलाई आदेशको जरुरी नपर्नुपर्ने हो भन्दै उनले अगाडि भनेका छन्–‘त्यसमा के भएको म आफैं पनि अचम्मित छु । कुनै पनि सुरक्षा राष्ट्रिय सम्पत्ति माथि गैरकानूनी ढंगले कसैले आक्रमण गर्छ भने त्यो आक्रमणबाट राष्ट्रिय सम्पत्ति बचाउनका निम्ति उसलाई आदेशको जरुरी नपर्नुपर्ने हो ।यदि पर्ने रहेछ भने अब त्यो हटाउनु पर्छ । सिंहदरबार कसैले आगो लगाएर जलाउन लाग्यो। त्यही सेनाको एकजना लडाकु उभिनु भएको छ, बन्दुक लिएर उभिनु भएको छ। आदेश नपाएसम्म जलाउने मान्छेलाई उहाँले तत्क्षण कारबाही गर्न सक्नु हुन्न। गर्न नसक्ने स्थिति रहेछ भने त्यो स्थितिको अन्त्य हुनुपर्छ ।’