काठमाडौं । जेनजी नेपालका कोशी प्रदेश संयोजक तोकिएका व्यक्ति प्रहरी कार्यालय जलाउन अग्र रुपमा खटिएको भेटिएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आगजनी गर्ने खोटाङका उपार्जुन चाम्लिङ राई जेनजी नेपालका कोशी प्रदेश संयोजक तोकिएका छन्।
भदौ २४ गते राजधानीमा अराजकता हावी हुँदा संसद भवनदेखि सिंहदरबारसम्म तोडफोड र आगजनी भयो। राजनीतिक दलका कार्यालयदेखि शीर्ष नेताका निजी आवाससमेत सुरक्षित रहन सकेनन्।
त्यसै दिन जनताको सुरक्षामा खटिने प्रहरीलाई समेत प्रदर्शनकारीले निशाना बनाए। काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालय जलाइए । जेनजी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहदे उपत्यका प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी गरे ।

त्यहाँ खोटाङका उपार्जुन चाम्लिङ राई पनि संलग्न रहेको सिसीटिभि फुटेजमा प्रष्टै देखिन्छ । सुदन गुरुङ र निकोलस भुसालले राईसँगै मधेशमा शिव यादव, बागमतीमा किरण केसी, गण्डकी प्रदेशमा प्रदीप पाण्डे, लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिममा खेमराज साउदलाई संयोजक बनाएका थिए।
शुक्रबार प्रहरीले देखाएको सीसीटीभी फुटेजमा उनी उपत्यका प्रहरी कार्यालयको पार्किङमा राखिएको गाडीमाथि खुकुरी प्रहार गरिरहेका देखिन्छन्। हरियो धर्के सट, कालो गञ्जी र कम्मरमा खुकुरी भिरेर उनी ज्याकी च्यान शैलीमा गाडीमाथि हानिरहेको दृश्यमा कैद भएका छन्।
त्यसैले पनि असोज ५ गते चाम्लिङले सुदन गुरुङ र डा. निकोलस भुसालसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई भेटेर आन्दोलनमा संलग्न जेनजीलाई पक्राउ नगर्न दबाब दिएका थिए।
घटनापछि उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले सम्पूर्ण मुद्दा जिल्ला प्रहरी परिसरमार्फत संचालन गर्ने निर्देशन दिएका छन्।