Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

‘संकटमा एकता’ खोज्दै कांग्रेसका युवा : विशेष महाधिवेशनको माग अस्वीकृत गर्ने

‘संकटमा एकता’ खोज्दै कांग्रेसका युवा : विशेष महाधिवेशनको माग अस्वीकृत गर्ने

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । पछिल्लो समय मुलुकको राजनीतिमा परम्परागत दलहरूप्रति असन्तुष्टि बढिरहेको पृष्ठभूमिमा नेपाली कांग्रेसका युवाहरुले ‘संकटमा एकता स् आजको आवश्यकता’ मूल नाराका साथ आज नयाँ बानेश्वरमा एक विशेष कार्यक्रम आयोजना गरेका छन् ।

‘खरानी टकटकाउँदै हामी उठ्ने छौं र जुट्ने छौं’ भन्ने उद्घोषसहित आयोजना गरिएको कार्यक्रममा सहभागी युवा नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको गुटबन्दीले एकतालाई खोक्रो बनाएको निष्कर्ष निकालेका छन् ।

उनीहरूले अब अमुक व्यक्तिको पछि नलागी संस्थागत निर्णयको प्रतीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा देखिएको परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गर्दै युवा भेलाले आन्दोलनमा ज्यान गुमाएका वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, आन्दोलनका मागहरूप्रति ऐक्यबद्धता जनाउँदै ती मुद्दाहरूलाई बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको सिद्धान्तभित्रै रहेर सम्बोधन गर्न सकिने ठहर गरेको छ।

कार्यक्रममा पार्टी सभापतिमाथि हालै भएको आक्रमणको निन्दा गर्दै त्यसलाई लोकतन्त्र र संविधानमाथिको हमलाको संज्ञा दिइएको छ ।

कार्यक्रमका वक्ताहरूले पार्टीमा विशेष महाधिवेशनको पक्षमा भइरहेको हस्ताक्षर अभियानजस्ता गतिविधिले पार्टी एकतालाई कमजोर बनाउने र अन्ततः फुटतर्फ धकेल्ने भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रमको निष्कर्ष सुनाउँदै युवा नेता आदर्श मल्लले भने–‘यस्तो संकटासन्न अवस्थामा विशेष महाधिवेशन जस्ता विकल्पको बहस अपरिपक्व, अस्वाभाविक र असान्दर्भिक रहेको हाम्रो निष्कर्ष छ ।’ आजको संकटको समाधान गुटमुक्त र एकताबद्ध कांग्रेस निर्माणमा रहेकोमा युवाहरूको जोड थियो ।

कार्यक्रमको ब्यानरमा ‘नीति परिवर्तनले ल्याउने छ आमूल परिवर्तन’ भन्ने सहायक नारा अंकित थियो । सहभागीहरूले पार्टीभित्र देखिएका समस्याको हल खोज्न व्यक्ति केन्द्रित पहलकदमीभन्दा पार्टीको संस्थागत निर्णय नै सर्वोपरि हुने धारणा राखेका थिए ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो, जहाँ उनीहरूले वर्तमान राजनीतिक संकटबाट पार पाउन र पार्टीलाई नयाँ ढंगले अघि बढाउन तत्काल नीतिगत सुधार र पार्टीमा युवा सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रमका उद्देश्यहरूमा राष्ट्रिय संकटको समयमा पार्टीभित्र एकता र सद्भाव कायम गर्ने, जेनजी आन्दोलनले उठाएका मागहरुलाई तत्काल सम्बोधन गर्नु पर्ने , कार्यकर्ताबीच फुट ल्याउने हस्ताक्षर अभियान तत्काल रोक्नुपर्ने, पार्टी संरचनामा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने, विधान संशोधनमार्फत समावेशी हक अधिकारको प्रवर्द्धन गर्ने र पार्टीलाई ‘डिजिटल कांग्रेस’का रूपमा अघि बढाउने संकल्प गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077