काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई देश छाडेर भाग्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेका छन् ।
शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने चर्चा चलिरहेका बेला उनले 'हा-हुँबाट बनेको सरकारलाई जिम्मा लगाएर हामी विदेश भाग्दैनौं' भन्दै सन्देश दिएका हुन् ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले हामीले यो देश बनाउनुपर्ने बताए । उनले भने, 'फेरि पनि यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं। शान्ति र सुव्यवस्था कायम गर्छौं। कुनै षड्यन्त्र गर्दैनौं, पारदर्शी ढंगले अघि बढ्छौं।'
उनले वर्तमान सरकार जनअभिमतबाट नभई तोडफोड र आगजनीबाट बनेको आरोप लगाउँदै आफू सरकारमा हुँदा गरेका सबै काम रेकर्डेड रहेको र आवश्यक परे सार्वजनिक गर्न तयार रहेको चेतावनी दिए।
'भ्रष्टाचार गरेको आरोप लगाइन्छ भने कहाँ, कसरी भयो भन्ने प्रमाणसहित ल्याउनुपर्छ,' ओलीले भने, 'म सरकारमा हुँदा कर्मचारी र प्रहरीलाई दिएको निर्देशनदेखि सबै कुरा अभिलेखमा छन्। बाहिर ल्याउन सरकारलाई चुनौती दिन्छु।'
आन्दोलनका नाममा उद्योगी र नागरिकका घरमा तोडफोड र आगजनी हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले भने, 'हरेक घरमा जेन्जी छन्, तर केही जेनजीलाई गलत प्रयोग गरिएको हो।'