काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व नेतृ सुमना श्रेष्ठले पार्टी नेतृत्वमाथि तीव्र असन्तोष प्रकट गर्दै व्यक्तिवाद र अवसरवादिताको आरोप लगाएकी छिन् ।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले आफूमाथि फैलाइएका भ्रमको खण्डन गर्दै पार्टीभित्रकै इमानदार कार्यकर्तालाई पाँचवटा ‘यक्ष प्रश्न’ समेत सोधिन् ।
श्रेष्ठले लेखेकी छिन्, 'तीन ठूला दलका टाउकेहरूलाई चोर औंला देखाउँदा बाँकी चार औंला आफैंतिर फर्किँदैनन् र ? त्यही प्रवृत्तिलाई मलजल गरेर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन लाग्नु अवसरवाद होइन त ?'
उनले पार्टीभित्रको व्यक्तिवादी प्रवृत्तिविरुद्ध आवाज उठाउनु ‘हुतिहारापन’ नभएको स्पष्ट पार्दै, गल्ती स्वीकार गरिए पनि आचरणमा सुधार नगर्ने अवस्थाले रास्वपाको नैतिक आधार कमजोर बनाएको टिप्पणी गरिन्।
श्रेष्ठले प्रश्न गरिन्, 'नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासलाई कसरी प्रतिप्रश्न गर्ने ? हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन ?'
जेनजी आन्दोलनमा रास्वपा ‘स्टेकहोल्डर’ नभएको उल्लेख गर्दै उनले पार्टीले ‘धमिलो पानीमा माछा मार्न’ खोजेको आरोप लगाइन् ।
'प्रधानसेनापतिले रास्वपा र दुर्गा प्रसाईं पनि स्टेकहोल्डर भनेपछि मैले प्रतिवाद गरेकै हुँ। तर त्यसबेला जङ्गी अड्डा धाउनु भनेको दुर्गा प्रसाईंसँगै उभिनु हो र वास्तविक अवसरवादलाई सदर गर्नु हो,' उनले भनिन् ।
आफूले जङ्गी अड्डा जानबाट रोकेको भन्दै नेतृत्वले भित्री प्रचार गरेको विषयमा उनले चर्को आपत्ति जनाइन् । 'मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनुभयो ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभयो ?' उनले आक्रोश पोखिन् ।