काठमाडौं । जेनजी आन्दोलनपछिको सरकार निर्माणमा ‘हाइज्याक’ गरेको आरोप खेपेका सुदन गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकारसँग शंकास्पद भेट गरेका छन् ।
नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहेका विज्ञ सल्लाहकार सुनिल थापा र गुरुङबीच लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा आज दिउसो भेट भएको हो ।
देशका ठूला ठेक्कापट्टामा विचौलियाको आरोप खेप्दै आएका थापा र गुरुङबीच झण्डै दुई घण्टा वार्ता भएको थियो।
राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेर सहमहामन्त्रीको समेत जिम्मेवारी सम्हालेका थापा र गुरुङबीचको भेटलाई शंकास्पद रुपमा हेरिएको छ ।
राष्ट्रपतिको विज्ञ सल्लाहकार रहेका थापाले विवादित व्यक्तिसँग बाहिर रेष्टुरेन्टमा खुलमखुल्ला आचरण र मर्यादाविपरित गरेको भेटलाई अर्थपूर्ण मात्र नभई शंकास्पद रुपमा लिइएको छ ।
जेनजी आन्दोलनको दिनमा आफूहरुले भालेन्टियर मात्र गरेको बताएका गुरुङले अन्तरिम सरकार निर्माणमा भने आफ्नो प्रभाव जमाएका थिए ।
सुशीला कार्की नेतृत्वको सरकार निर्माणमा सबैभन्दा ठूलो हात उनैको थियो । तर, सरकार बनेको भोलिपल्टै गुरुङको संस्था ‘हामी नेपाल’का प्रतिनिधिहरुले बालुवाटार पुगेर कार्कीकै विरोध गरेका थिए ।
गुरुङमाथि जेनजी आन्दोलन नै हाइज्याक गरेको आरोप लाग्दै आएको छ ।

केही दिन अघि जेनजी आन्दोलनका घाइते भेट्न राजधानीको एक अस्पतालमा पुगेका गुरुङलाई एक घाइतेले आन्दोलन नै हाइज्याक गर्न खोजेको भन्दै झपारेका थिए । त्यहाँ उनी केही नबोली हिंडेका थिए ।
जेनजी आन्दोलनका घाइतेले हामी नेपालका संयोजक गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न यसअघि नै चेतावनी दिइसकेका थिए । उनीहरुले सिंहदरबार भित्रै गुरुङविरुद्ध नाराबाजी समेत गरेका थिए ।
पछिल्लो समय गुरुङका गतिविधि शंकास्पद देखिएको भन्दै प्रहरीले नै गोप्य रुपमा निगरानी बढाइराखेको छ । खासगरी उनको विदेशीहरूसँगको सम्पर्क र सञ्जालमाथि प्रश्न उठेको छ ।
उनको फ्रि–तिब्बत अभियानसँग पनि बिशेष सम्बन्ध देखिएको छ । फ्रि–तिब्बतको पक्षमा काम गर्दै आएका संस्थाहरूसँग हामी नपालले सहकार्य गर्दै आएको उनको वेभसाइट मै उल्लेख छ । यो विषयलाई लिएर छिमेकी देश चीनले पनि चासो राखेको छ ।
उनलाई विगतमा सहयोग गरेकै आधारमा नेत्र विशेषज्ञ सन्दुक रुइतको बारबरा फाउन्डेसन संस्था समेत विवादमा तानिएको थियो । सोही कारण संस्थाले पत्रकार सम्मेलन नै गरेर उनीसँग हाल कुनै सहकार्य नभएको भनेर प्रष्टीकरण दिएको छ ।
गुरुङका गतिविधि राष्ट्रिय सुरक्षामै जोखिम हुने देखिएपछि सुरक्षा निकायले निगरानी बढाएका छन् ।
कार्कीलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेलेका गुरुङ नेतृत्वको ‘हामी नेपाल’ नामक एनजिओलाई तिब्बती नेता दलाई लामाको बिधार्थी संगठन ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’ तथा बारबरा फाउण्डेशनले करोडौं लगानी गरेको र बालुवाटारमा कार्यालयसमेत खडा गरिदिएको तथ्य सार्वजनिक भइसकेको छ ।
हामी नेपालको वेबसाइटमा रहेको सहयोगीको सूचीमा तिब्बत समर्थकलगायतका संस्थाहरु नेपालमा हुने चीन विरोधी प्रदर्शनमा समेत स्टुडेन्ट फर अ फ्री तिब्बत सक्रिय रहँदै आएको छ । यसको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो ।
‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ नेपालमा हुने चीन विरोधी गतिविधिमा प्रत्यक्ष संलग्न रहेको खुलिसकेको छ । सन् २००६ मा स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको बौद्धमा तिब्बती समूहले गरेको विरोध प्रदर्शनमा यो संस्था जोडिएको यसअघि नै खुलेको थियो ।
गुरुङ तिनै व्यक्ति हुन्, जो यतिबेला जेनजी आन्दोलनमा घुसपैठ गरेर हिंसा फैलाउन संलग्न देखिएकाहरूलाई पक्राउ नगर्न प्रहरी प्रशासनलाई दबाब दिन सक्रिय छन् ।
प्रहरी प्रशासनदेखि आन्दोलनको जाँचबुझ गर्न गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीसम्मलाई भेटेर कारबाही नगर्न दबाब दिएका छन्।
सुदनसँगको भेटवार्ताका बारेमा थापासँग प्रतिक्रियाका लागि अनलाइन नेपालले प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।