काठमाडौं । हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ एण्ड एरेस्ट मर्डर भन्दै फेसबुक ट्रेन्ड सुरु गरेका छन्।
उनले आफ्नो फेसबुकमार्फत ओली र लेखकको तस्बिरसहितको पोस्ट गर्दै राष्ट्रका लागि गर वा मर भन्दै ट्रेन्ड सुरु गरेका हुन् ।
भदौ २३ र२४ गते भएको जेनजी आन्दोलनको क्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकले जेनजीमाथि दमन गरेको आरोप जेनजी अभियान्ताहरुले लगाउँदै आएका छन्।
सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार विरुद्ध भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु भएको प्रदर्शनीमा १९जना जेनजीको ज्यान गएपछिको ओलि सरकार ढलेको थियो ।
अहिले जेनजीकै मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ। यो सरकारले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
यही आयोगलाई दबाब दिन सुदनसहितले ओली र लेखकलाई पक्राउ गर भन्दै ट्रेन्ड सुरु गरेका छन्। कार्की संयोजक रहेको आयोगले ओली र लेखकसहितको राहदानीसमेत रोक्का गर्दै काठमाडौँ उपत्यका छाड्नुपरे पनि अनुमति लिन भनिएको छ।
सुदनले फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टरमा उनीहरुलाई तत्काल पक्राउ नगरे पक्राउ गरेर कारबाही गर्न बाध्य पारिने चेतावनी पनि दिइएको छ।
यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएका छन् ।
'