Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाउ-बाजेको व्यवसायलाई सुदूरको आकाशमा सफल उडान भरिरहेका पुष्पराज

बाउ-बाजेको व्यवसायलाई सुदूरको आकाशमा सफल उडान भरिरहेका पुष्पराज

आइतवार , आश्विन २६, २०८२

भनिन्छ, बच्चाको हुर्काई जसरी र जुन माहोलमा हुन्छ, त्यसले भविष्यमा के र कस्तो मान्छे बन्ने भन्ने कुरा निर्धारण गर्दछ। बच्चाको हुर्काइ शिक्षादीक्षाले उसको भविष्यमा गहिरो प्रभाव पार्दछ ।

त्यस्तै प्रभाव पुष्पराज कुँवरको जीवनमा पनि पर्‍यो । सानैदेखि हजुर बुवा र बुवाले व्यवसाय गरेको देखेका उनलाई पनि व्यापार व्यवसायमा रुचि हुँदै गयो र अहिले सुदूरपश्चिममा उद्यमशीलता र व्यावसायिक नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

कुँवर हाल कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष र उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । यद्यपि संघको नयाँ नेतृत्व चयन भइसकेको छ । उनले अबको केही दिनमा पद हस्तान्तरण गर्नेछन ।

अछामको साँफेबगरमा एक सामान्य व्यवसायी परिवारमा जन्मेका उनले व्यवसाय पनि त्यहीबाट सुरुवात गरेका थिए। उनी आज सफल उद्यमशील नेतृत्वसम्म आइपुगेका छन् ।

२०३५ सालमा बुवा ध्वजबहादुर कुँवर र आमा जनक कुँवरको कोखबाट जन्मिएका उनी ७ भाइहरू मध्ये काइला हुन्। उनको परिवार साँफेमा पुर्खौँदेखि व्यवसायी थिए। बुवा ध्वजबहादुर त्यही पारिवारिक व्यापारमा थिए ।

सुरुमा ‘नुनदेखि सुनसम्म’ पाइने पसलबाट सुरु भएको पारिवारिक व्यवसाय जेठा दाजु पढाइको सिलसिलामा काठमाडौँ गए। त्यसपछि माइला दाजु र पुष्पराजले मिलेर व्यवसाय अघि बढाए ।

उनको लगाव पढाई भन्दा पनि व्यापार व्यवसायमै बढी थियो। अछामको श्री प्रभा धम्कोट माविबाट कक्षा १२ सम्मको पढाइ पूरा गरेका छन्।

उनी ११ वर्षको उमेरदेखि नै व्यवसायमा आबद्ध भैसकेका थिए त्यसैले पनि उनले पढाइ छोडेर व्यवसाय रोजे । उनले रोजेको व्यवसायले आज प्रत्यक्ष रूपमा २०० जना बढीले रोजगारी पाइरहेका छन् ।

भारतबाट सामान ल्याएर खच्चर र भरियाले सांफेसम्म पुर्‍याएको अनुभव पुष्पराजसँग छ। गाडी पुग्नु भन्दा अगाडि भारतको टनकपुरबाट खच्चरमा सामान डोटीको दिपायलसम्म आउँथ्यो । त्यहाँसम्म पनि सामान लिन जानुपर्थ्यो।

पछि सडक सुविधा थपिएपछि ट्रकमा सामान पुग्न थाल्यो। उनका दाजु सामान लिन कहिले बरेली, कहिले टनकपुर, कहिले नेपालगञ्ज जाने गर्थे। बाहिरको सबै काम उनका दाजुहरूले नै गर्थे भने पसल सम्हाल्ने काम उनको काँधमा थियो।

सहज तरिकाले व्यापार व्यवसाय चलिरहेका बेला देश १० वर्षे द्वन्द्व फस्यो। यसको असर उनको व्यवसायमा पनि पर्‍यो। राम्रोसँग पसल चलाउन सकेनन्। त्यही सङ्घर्षमा हिँड्दै २०५९ सालमा उनले अछाम छोडे र धनगढी आए।

धनगढी आएपछि सुरुमा उनले चौराहा कोठा भाँडामा लिएर आफ्नो व्यवसाय सुरु गरे। त्यहीँबाट सुरु भएको उनको व्यवसाय आज व्यापक बनेको छ।

आज उनका व्यवसायहरू खाद्यान्न, इट्टा भट्टा, होटेलदेखि पेट्रोल पम्पसम्म, तालिम केन्द्रहरू बाजुरा, कैलालीको बौनिया लगायतका विभिन्न ठाउँमा फैलिएका छन्।

कैलाली उद्योग वाणिज्य संघको दुई कार्यकालको सफलता पूर्वक नेतृत्व सम्हाले

अछाम छोडेर धनगढीमा आएपछि यतै व्यवसाय गर्न थाले।  धनगढीमा व्यवसाय गर्न सजिलो त थिएन अछाम भन्दा फराकिलो धनगढी भएता पनि व्यवसाय गर्न कठिन मानिन्छ धनगढी किन भारतसँगको सिमाना यहाँका व्यवसायीहरूका लागि अवसर र चुनौती दुवै हुन् । खुल्ला सिमाना र नेपाली लक्षित भारतीय सीमा बजारहरू नेपालीहरूको खरिदारी गर्ने सहज ठाउँ हुन्।

धनगढीमा व्यावसायिक यात्रा बिस्तार गरेका कुँवर आफ्नै काममा व्यस्त थिए । त्यही क्रममा उनी व्यवसायीकै हकहितमा क्रियाशील संस्था कैलाली उद्योग वाणिज्य संघमा जोडिन पुगे ।

संघको सदस्य, कोषाध्यक्ष हुँदै २०७६ सालमा उनी पहिलो पटक संघको अध्यक्षमा निर्वाचित भए। पहिलो ३ वर्ष अध्यक्षको भूमिकामा रहँदा कुँवरले व्यावसायिक हित मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै उच्च प्राथमिकतामा राखे।

कोभिड–१९ को कठिन समयमा जसले व्यवसाय मात्र धराशायी भएन कयौँ मानिसहरूको आर्थिक अवस्था खस्कियो । सर्वसाधारणलाई हातमुख जोर्न समेत कठिन भइरहेको थियो । त्यही समयमा उनले करिब ३० लाख बराबरको राहत भजनी, टीकापुर, धनगढी उपमहानगरपालिका, जोशीपुरलगायतका सात पालिकामा वितरण गरे। त्यति बेला उद्योग वाणिज्य संघसँग पर्याप्त स्रोतसाधन थिएन ।

कोभिडले शिथिल भएका व्यापारीहरूले नै कुँवरलाई सहयोग जुटाउन मद्दत गरेर राहत बाँडिएको थियो । २०७९ सालमा डोटीको पूर्वीचौकी गाउँपालिकामा भूकम्प आउँदा कैलाली उद्योग वाणिज्य सङ्घले पाँच लाखको सहयोग गर्‍यो ।

देशमा अहिले पनि व्यापारीहरूका लागि व्यापार गर्ने सहज वातावरण बनेको छैन । कुँवरलाई लाग्छ देशमा भूकम्प, बाढी-पहिरो तथा कोभिड महामारी मै किन नहोस् । राज्य र समाजसँग हमेसा काँधमा काँध मिलाएर आर्थिक सहयोग गर्न अग्र भागमा यहीका व्यावसायीहरु उभिन्छन् ।

तर, व्यावसायिक हक हितका मुद्दामा भने राज्यले सहज वातावरण बनाउन नसकेको उनी बताउँछन् । कुँवरले आफ्ना दुवै कार्यकालमा निरन्तर उद्योगी व्यावसायिक हकहितका मुद्दा उठाएका छन् ।

बैँक तथा वित्तीय संस्थाको उच्च ब्याजदरविरुद्ध लामो समय उनको नेतृत्वले आवाज उठायो , कर तथा भन्सार प्रणालीमा सुधारको माग गरे ।

संघमा दर्ता भएका व्यापारीहरूको पसलमा आगलागी भएमा तत्काल ५० हजार दिने व्यवस्था सुरु गरे र बिमा प्रणाली लागु गराए। महिलाहरूलाई आर्थिक रूपमा सबल बन्न प्रोत्साहित गर्न सुदूरपश्चिम महोत्सवमा एकल महिलालाई निःशुल्क स्टल उपलब्ध गराए।

संघमा दर्ता भएका व्यापारीहरूलाई पनि स्टल सहुलियत उपलब्ध गराए। महोत्सवमा अपाङ्ग वृद्धा-वृद्धालाई निःशुल्क भित्र जाने बनाए। साथै, स्थानीय कलाकार, उत्पादन, भेषभूषा र खानपानलाई प्राथमिकता दिए।

महोत्सवमा बाजुरा, बझाङ, अछामलगायतका जिल्लाका स्थानीय स्रोतलाई प्रोत्साहन गर्दै सहभागीहरू ल्याए। यसले स्थानीय उत्पादन र संस्कृतिको प्रवर्धनमा ठुलो योगदान दियो।

उनले सुदूरपश्चिमको पर्यटन प्रबन्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्यको सहभागिता जर्मनीमा आईटीई बेईरिङग वर्ड ट्रेड फियरमा समेत गराएका थिए। उनको नेतृत्वमा रहेकै बेला २०७७ सालमा कैलाली उद्योग वाणिज्य संघ देशभरमा ‘उत्कृष्ट शाखा’ को रूपमा सम्मानित भयो ।

त्यति बेला नेपाल उद्योग वाणिज्य संघको साधारण सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कदर पत्रसहित सम्मान गरेका थिए । उनको योगदानको मूल्याङ्कन गर्दै विभिन्न संस्थाले पनि उनलाई सम्मान गरेका छन् ।

कृषि, पर्यटन र महामारी नियन्त्रणका क्षेत्रमा उनले पु¥याएको योगदानको कदर भएको छ। कुँवरको नेतृत्व र कार्यशैलीले नवप्रवर्तनशील सोच, व्यावसायिक विकास र समाज सेवामा सन्तुलन राखेर अगाडि बढ्न सकिन्छ भन्ने दर्साउँछ।

व्यवसायको क्षेत्रमा मात्र नभई समाज सेवा र नेतृत्वमा पनि उनी सक्रिय छन्। कुँवरको उद्यमशील यात्राले लामो समयदेखि निरन्तरता पाउँदै आएको छ। उनी स्थानीय व्यवसायीहरूको हितका लागि काम गर्दै आएका छन् ।

विशेष गरी कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दै व्यवसायीहरूको कानुनी र प्रशासनिक समस्या समाधान गर्न, व्यापार वातावरण सुधार्न र प्रदेश स्तरमा व्यावसायिक गतिविधिलाई सहज बनाउन निरन्तर प्रयासरत छन् ।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पहिलो पटक निर्वाचित भएका उनले त्यो कार्य कालमा कोरोना महामारीका कारण साचेजति काम गर्न सकेनन् ।

काम गर्न नपाई कार्यकाल सकिने स्थिति बनेपछि उनले दोस्रो पटक पनि पुनः अध्यक्षमा लड्ने सोच बनाए। सोही अनुसार संघको अध्यक्ष पदमा २०७९ को निर्वाचनमा दोस्रो पटक उम्मेदवारी दिए र निर्वाचित पनि भए।

मनकारी पुष्पराज

व्यावसायिक क्षेत्रमा मात्र होइन सामाजिक सेवाका क्षेत्रमा पनि उनी निरन्तर सक्रिय छन् । धनगढीमा रहेको शिवपुरी धामलाई करिब २० लाख, मानव सेवा आश्रमलाई भवनको कोठा निर्माणका लागि ६ लाख ५५ हजार, मानव सेवा आश्रमलाई आजीवन खाना भनेर एक लाख रुपैयाँ कोषमा, गृह जिल्ला अछामको सिद्धेश्वर माविका लागि १२ लाख, वैद्यनाथ धामलाई दुई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । यसरी उनले समाजप्रति पनि निरन्तर योगदान दिइरहेका छन्।

कुँवरको सोच र नेतृत्वको विशेषता भनेको नवीनता र दिगोपना हुन्। उनी भन्छन्, ‘हामीलाई पदमा मात्रै बस्ने छुट छैन, काम गर्ने अवसर चाहिएको हो।’ उनमा चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने क्षमता छ । उनी केवल व्यावसायिक क्षेत्रमा मात्रै सक्रिय छैनन्, समाज सेवामा पनि निरन्तर संलग्न छन्।

उनी भन्छन्- 'आफूले यही समाजबाट सबै थोक पाइरहेको हुदां समाजप्रति आफ्नो पनि कर्तव्य हुन्छ सकेको गर्ने ।' आजका युवाका लागि उनी उद्यमशील नेतृत्वको प्रेरणा स्रोत बनेका छन्।

उनको सन्देश छ, ‘नवीन सोच, प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्व मिलाएर व्यावसायिक र सामाजिक दुवै क्षेत्रमा सफल हुन सम्भव छ।’

वाणिज्य संघलाई नयाँ उचाइमा पुर्‍याएर नेतृत्व हस्तान्तरण

कुनै पनि संस्थाको समग्र विकासमा त्यसको नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ । नेतृत्वको क्षमताले उक्त संस्थाको गरिमा र उचाइ वर्तमान र भविष्य कस्तो हुने भन्ने कुराको निर्धारण गर्दछ । कुँवरले आफ्ना दुवै कार्यकाल सम्झन लायक बनाएका छन् ।

आफ्नो कार्यकालमा उत्कृष्ट शाखाका रूपमा कैलाली उद्योग वाणिज्य संघ बनाएका कुँवरले संघमा भौतिक संरचनाहरू निर्माण समेत गरेका छन् । उनले ३ करोडको लागतमा नयाँ भवन र कार्यालय प्रयोजनका लागि कार्यालय पछाडि १४ कोठाको अरको भवन निर्माण गरेका छन् ।

कैलाली उद्योग वाणिज्यसंघले गोपाल हमालको कार्यकालदेखि सुदूर पश्चिमको विकासका लागि २१ बुँदे माग राखेर सुरु भएको सुदूर पश्चिम महोत्सवमा (२१ किलोको माला अभियान) लाई निरन्तरता दिए । ती मध्ये ५ वटा माग पूरा भएका छन् ।

सम्पन्न भएका मागहरू अप्टिकल फाइबर विस्तार, सुदूर पश्चिमाञ्चलमा विश्वविद्यालय स्थापना,छैटौँ राष्ट्रिय खेलकुद आयोजना तथा रङ्गशाला निर्माण, सघन उपचार कक्ष (आइसियु स्थापना), दुग्ध प्रशोधन केन्द्र स्थापना हुन् ।

उनले व्यवसायीको हकहित मात्र नभएर सुदूर पश्चिमको विकासमा पनि योगदान पुर्‍याएका छन् । कैलाली उद्योग वाणिज्य संघको चुनाव सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गरेपछि उनी प्रदेश अध्यक्ष हुने सोचमा रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077