Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोनललाई मुख्यमन्त्री बनाउन आज बुझाएको पत्र आधिकारिक हो : जनमत

सोनललाई मुख्यमन्त्री बनाउन आज बुझाएको पत्र आधिकारिक हो : जनमत

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनललाई आफ्नो समर्थन रहेको जनाएको छ ।

जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै यस्तो बताएका हुन् ।

लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने गरी कांग्रेस, एमालेबाहेक पाँच दलको पत्र मुख्यमन्त्री कार्यालयमा दावी पेश गरेपछि कांग्रेसले पनि सरकारको लागि दाबी पेस गरेको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेश गरेको दावीमा ५८ सांसदको हस्ताक्षर रहेको बताइएको छ ।

उनले नेपाली कांग्रेसका २२, नेकपा एमालेका २५ र जनमतका १३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लगत्तै जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र पठाएर जनमत संसदीय दलको तर्फबाट आधिकारिक रूपमा जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मुख्यमन्त्रीमा समर्थन भएको पत्र आधिकारिक रहेको जानकारी गराएको छ ।

असोज २२ गते कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार बनाउन जनमत पार्टीका १३ जनाको हस्ताक्षर प्रमुख कार्यालयमा बुझाएको थियो । कांग्रेस, एमाले र जनमत पार्टी गठबन्धनको सरकार बनाउने लगभग तय भइसकेको थियो ।

तर, मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा नदिएको र प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान नभएको अवस्थामा तीन वटै दलले बुझाएको हस्ताक्षर वैधानिक नरहेको आलोचना त्यही बेला सुरु भएको थियो ।

यादवले सोही पत्र आज प्रदेश प्रमुखलाई बुझाएका थिए ।

सिंहले राजीनामासँगै प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि जसपा नेपाल, लोसपा नेपाल, माओवादी केन्द्र, जनमत पार्टी र नेकपा (एस)ले लोसपा नेपालका उपाध्यक्ष सोनललाई मुख्यमन्त्री बनाउने गरी ५६ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।

असोज २२ गते बुझाएको पत्रलाई आधिकारिक भन्दै कांग्रेसले दाबी गरेपछि जनमत पार्टीले आज बुझाएको पत्र नै आधिकारिक रहेको जानकारी प्रदेश प्रमुखलाई गराएको हो ।

जनमतको यो पत्रले यादवको मुख्यमन्त्री बन्ने सपना अधुरै रहने भएको छ भने सोनलले मुख्यमन्त्रीमा बाजी मार्ने देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077