काठमाडौँ । काठमाडौंमा ‘जेनजी’को नाममा विभिन्न व्यक्तिहरुलाई धम्क्याउने काममा संलग्न अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई आज बेलुका कोटेश्वरबाट पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपल्ट विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने काम गर्दै आएका थिए। जेनजी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्ने गरेका थिए ।
नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंअनुसार, शाहीमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनाको थप विवरण संकलन भइरहेको छ। प्रहरीले उनले धम्की दिएका सबै घटनाका बिवरण संकलन गरी कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।