Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख भत्ता निकासा, वडा अध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख भत्ता निकासा, वडा अध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रवार , आश्विन ३१, २०८२

धनगढी । कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, वडा अध्यक्ष भण्डारी, तत्कालीन वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट तथा वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माले मिलेमतो गरी कुल रु. ७३ लाख ३७ हजार ६२७ बराबरको सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको पाइएको हो।

अनुसन्धानका क्रममा आ.व. २०७४र०७५ देखि २०७७र०७८ को दोस्रो चौमासिकसम्म मृतक व्यक्तिहरूको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बरबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम भुक्तानी गरिएको खुलेको अख्तियारले जनाएको छ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनअनुसार तत्कालीन वडा सचिव प्रेमबहादुर बुढाले लाभग्राहीको नाममा आफैंले ४७९ औंठाछाप लगाएको र कार्यालय सहयोगी सोनम कठरियाले २०४ औंठाछाप प्रयोग गरेको प्रमाण भेटिएको अख्तियारले जनाएको छ।

त्यसरी झुट्टा अभिलेख र औंठाछाप प्रयोग गरी मृतक तथा नवीकरण नगरिएका लाभग्राहीका नाममा भत्ता रकम बैंक खातामार्फत निकासा गरिएको बताइएको छ। सो क्रममा मृत्यु दर्ता भइसकेका व्यक्तिहरुको नाममा पनि नवीकरण गराई रकम भुक्तानी गरिएको पाइएको छ।

अख्तियारका अनुसार,


  • वडा सचिव बुढाले औंठाछाप प्रयोग गरी भुक्तानी गरेको रकम रु. २१ लाख ३४ हजार ७२१ रहेको,

  • कार्यालय सहयोगी कठरियाले प्रयोग गरेको रकम रु. ७ लाख ८१ हजार २०० रहेको,

  • मृत्यु दर्ता भइसकेका व्यक्तिहरुको नाममा नवीकरण गरी निकासा गरिएको रकम रु. १५ लाख ५० हजार ४०० रहेको,

  • दोहोरो लाभग्राहीका नाममा वितरण भएको रकम रु. १ लाख ७८ हजार ४०० रहेको,

  • मृतक व्यक्तिहरुकै खातामा रहेको रकम रु. १३ लाख २८ हजार ९८० रहेको र

  • नवीकरण नगरिएका लाभग्राहीका खातामा रहेको रकम रु. १३ लाख ६३ हजार ९२६ रहेको छ।

  • यी सबै रकम मिलाएर प्रतिवादीहरूले रु. ७३ लाख ३७ हजार ६२७ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियार आयोगको निष्कर्ष छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077