काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलस्थित अनुगमन शाखामा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी रहेका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उद्योग नवीकरणका लागि सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको सूचनाका आधारमा विशेष अपरेसन सञ्चालन गरिएको थियो।
उक्त क्रममा चौधरीलाई ३० हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको हो।
अख्तियारले चौधरीसँग रहेको दुई थान मोबाइलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
मोबाइलमार्फत थप प्रमाण संकलन गर्ने र घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइने आयोगले जनाएको छ।