काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजश्व चुहावटबाट बच्नका लागि एचके ईन्टरप्राइजेजका तर्फबाट अधिकारीले ७० लाख रुपैयाँ घुस रिसवत लिएको अभियोगमा अख्तियारले अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो । उक्त कम्पनिका श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट उनले ७० लाख रुपैयाँ लिएको अख्यितारको दाबी छ ।
घुस लिनका लागि पोखराको कुटि रिसोर्टका साहु देवेन्द्र केसी, विकास चापागाइँ र रविन्द्र लामिछानेसँग समेत सल्लाह गरेको र खाता प्रयोग गरेको अख्तियारको दाबी छ ।
अख्तियारले उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको समेत दावी गरेको छ ।
एचके इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैंया दिएको भेटिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
उक्त रकम विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरुको खातामा राखिएको अख्तियारको दाबी छ ।
त्यसपछि उनीहरुले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको अख्तियारको दावी छ । त्यसपछि देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अख्तियारको दावी छ ।
अधिकारी साढे पाँच महिना मात्रै विभागको महानिर्देशक बनेका थिए । उनी २०७९ असार १ देखि २०७९ कार्तिक १६ गतेसम्म राजस्व अनुसन्धान विभागमा थिए ।
अख्तियारका अनुसार, महानिर्देशक भएको एक महिनामै उनले घुस लिएका थिए । अख्तियारले उनीमाथि घुस लिएको आरोपमा भ्रष्टाचारका साथै गैरकानुनी रुपमा सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने रविन्द्र लामिछानेविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगको आरोप पत्रमा भनिएको छ–‘भ्रष्टाचार गरी आर्जन गरेको प्रतिवादी झलक राम अधिकारी सँगको मिलेमतो तथा मतसल्लाहमा निज प्रतिवादी रविन्द्र लामिछानेले आफ्नो नाममा उक्त घुस रिसवत रकम रू ५० लाख लगानी गरि खरिद गरेको जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. १७ स्थित दिव्यश्वरी आयोजना भित्रको कि.नं. ९९८ क्षेत्रफल १६४.१४ व.मि. (०–५–०–२.५९) को जग्गा जफत हुन मागदाबी लिईएको छ।'
त्यस्तै, 'झलक राम अधिकारी सँगको मिलेमतो तथा मतसल्लाहमा निज प्रतिवादी देवेन्द्र केसीले उक्त घुस रिसवत वापतको बीस हजार कर्जा भुक्तानीमा लगानी गरे गराएको बराबरको रकम जफत/असुल हुन मागदाबी लिईएको छ।'-आरोप पत्रमा थप भनिएको छ