काठमाडौं । देशभर जेनजी आन्दोलनको ज्वाला दन्किरहेको थियो। सिंहदरबारदेखि लिएर राष्ट्रपति भवनसम्म धुवाँको मुस्लो उडिरहेको थियो। सरकारी कार्यालय, बैंक, प्रहरी चौकी, वडा कार्यालय सबैतिर आगो झोसिएको क्षण थियो त्यो।
तर त्यही भीषण क्षणमा दाङ जिल्ला अदालतको मुख्य ढोकामा उभिएकी थिइन् प्रहरी हवलदार संगीता अधिकारी। उनले आफ्ना सहकर्मीसँग मिलेर जिल्ला अदालतलाई जल्नबाट बचाइन्।
‘ए भाइ ! प्लिज क्या, अब भयो गइदिनोस्,’ उनले आक्रोशित भिडलाई दिदी बनेर सम्झाउँदै भनिन्, ‘यो हाम्रै ट्याक्सबाट बनेको चिज हो, यस्तो गर्नुहुँदैन।’
त्यो वाक्यले भिडको दिशा मोडियो। प्रहरी र जनताका बिचमा क्षणभरका लागि संवाद सम्भव भयो। संगीता अधिकारीले त्यस क्षणलाई प्रयोग गर्दै अदालतवरपरको भिडलाई संयमित बनाइन्। जल्नै लागेको अदालतलाई जोगाइन्।
‘भिडले अदालतको ढोकासम्म ढुंगा हान्न थालेको थियो,’ संगीता सम्झिन्छिन्, ‘हामीलाई पनि डर लागेको थियो। तर अदालतका कागजात र फाइलहरू सम्झियौं– यो हाम्रो न्याय प्रणालीको मेरुदण्ड हो, अदालत जल्यो भने दशकौंको विश्वास जलेर खरानी हुनेछ।’
बिहान १० बजे र दिउँसो १ बजे पनि अदालतअघि भिड आएको थियो। उनले उसैगरी सम्झाउँदै पठाइन्। त्यो आफ्नो जीवनको सबैभन्दा जटिल अवस्था रहेको उनले बताइन्। नागरिक दैनिकबाट