काठमाडौं । इतिहासकै कठिन अवस्थाबाट माथि उठ्दै गरेको नेपाल प्रहरीलाई फेरि कमजोर बनाउन खेल सुरु भएको छ । जेनजी आन्दोलनमा कसैलाई अत्याधिक बल प्रयोग गरेको आरोप लगाइएको छ भने कसैलाई कम बल प्रयोग गरेको आरोपमा विवादमा तान्ने प्रयास भइरहेको छ।
अचम्म त प्रहरी संगठनभित्रै केही अधिकारीहरू आफ्नो व्यक्तिगत स्वार्थमा यस्ता विषय उठाएर संगठनलाई कमजोर बनाउने र कर्मचारीको मनोबल खस्काउने खेलमा छन् ।
जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठन भएको जाँचबुझ आयोगको माध्यमबाट पछिल्लो समय प्रहरीमा चलखेल भइरहेको छ ।
आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानमा बोलाउने तयारी गरिरहेको छ । सोही विषयमा प्रहरी प्रधान कार्यालयले लेखेको एक पत्रलाई सार्वजनिक गरेर उपत्यकामा कार्यरत वृत्त इन्चार्जहरुलाई यतीबेला कमजोर बनाउने खेल सुरु भएको छ ।
आयोगको बयानमा जानुपर्ने भन्दै उनीहरुलाई उपत्यका नछाड्न भनिएको छ । अहिलेको कठिन अवस्थामा ज्यानकै बाजी मारेर काम गरिरहेका अधिकृतहरु अनावश्यक मिडियाबाजी गरिएपछि तनावमा छन् ।
प्रहरी प्रधान कार्यालयले भने उपत्यकामा कार्यरत सबै प्रहरी त्यो दिन फिल्डमै खटिएको जवाफ दिइसकेको छ।
२३ गतेको आन्दोलनमा राम्रो कमाण्ड नभएपछि भोलिपल्ट एआइजी दानबहादुर कार्कीलाई उपत्यका प्रहरीमा खटाइएको थियो ।
मन्त्रिपरिषद्को निर्णय समेत नगरी उनलाई खटाइएको थियो । भोलिपल्ट उनी कार्यभार सम्हाल्न नपुग्दै उपत्यकामा आगो बल्न थालिसकेको थियो ।
अघिल्लो दिनको जस्तो नरसंहार नहोस् भनेर उनले बल प्रयोग नगर्न निर्देशन दिए । सेना र सशस्त्र प्रहरीले पनि साथ नदिएपछि प्रहरी पछि हट्नुको विकल्प थिएन ।
यसरी बल प्रयोग नगर्दा प्रहरीका कार्यालय जलेको भन्दै अहिलेको उनीमाथि दोष थोपर्न लागिएको छ ।
जबकी प्रहरी अधिकारी भन्छन्-‘त्यो दिन पनि प्रहरीले गोली चलाएको भए, धेरै नागरिक र प्रहरीको हताहती हुने अवस्था थियो ।’
त्यो दिन बल प्रयोग नगर्दा प्रहरीको भौतिक क्षति ठूलो भएपनि प्रहरी र नागरिक सम्बन्ध अहिले मजबुत भइसकेको छ । तर, कार्कीले प्रहरी कार्यालय जोगाउन नसकेको आरोप लगाएर उनीविरुद्ध चलखेल बढेको छ।
जेनजी आन्दोलनपछि प्रहरी संगठन नै कठिन अवस्थामा छ । यस्तो अवस्थामा संगठनमा एकजुट हुनपर्नेमा नयाँ आईजीपी नियुक्तिको चलखेलमा गुटबन्दी सुरु भइसकेको छ ।
एकले अर्काले दोष लगाएर व्यक्तिगत फाइदा उठाउने गतिविधि बढेपछि त्यसमा प्रहरी प्रधान कार्यालयले एक समिति बनाएर छानविन समेत गरिरहेको छ ।
अबको एक सातापछि प्रहरी नेतृत्व फेरिदैछ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले २६ कात्तिकमा अवकाश पाउनेछन्।
त्यसपछि दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र शिद्धिबिक्रम शाहमध्ये एक आईजीपी हुनेछन् ।
पहिलो नम्बरमा रहेका कार्कीलाई रोक्न कठिन हुने भएपछि प्रतिस्पर्धीहरु उनीविरुद्ध उजुरी हाल्न लगाउनेदेखि बल प्रयोग नगरेको भन्दै कमजोरी देखाएर आईजीपी नियुक्तिमा ‘कु’ गर्ने प्रयास भइरहेको छ ।
तर, आईजीपी नियुक्ति गर्दा वरियता मिच्न नहुने भनेर फैसला गर्ने सुशीला कार्की प्रधानमन्त्री र त्यसको पक्षमा बहस गर्ने ओमप्रकाश अर्याल गृहमन्त्री भएकाले पनि आईजीपी नियुक्तिमा यस्तो चलखेल सफल नहुने देखिन्छ ।