काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी उजुरी र गुनासो दर्ताका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार, प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक र जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रतिनिधि रहने समितिहरू गठन गरिनेछन् ।
मन्त्रालयले यसअघि गठित आयोगहरूको पदावधि सकिएपछि मिटरब्याजीसम्बन्धी उजुरी प्रक्रियामा निष्क्रियता देखिएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्लास्तरीय संयन्त्र गठन गरी उक्त उजुरी र गुनासो दर्ताको काम पुनः सुरु गर्न निर्देशन दिएका हुन् ।
यसअघि गठन भएका तीनवटा आयोगमध्ये पछिल्लो तीन सदस्यीय जाँचबुझ आयोगको अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरू भरतबहादुर बोहरा तथा बद्रीप्रसाद भट्टराई थिए । रेग्मी आयोग ०८१ फागुन २६ गते गठन भएको थियो र चैत्र १३ गतेदेखि काम सुरु गरेको थियो ।