काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवकाशलगत्तै निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको विषयमा आपत्ति जनाएका छन्।
गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले त्यसप्रति आपत्ति जनाएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीले अहिलेको आइजीपीलाई तर्साउन निवर्तमान आइजीपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थानहदको प्रचार गरिएको आरोप लगाए । हाल नेपाल प्रहरीमा दानबहादुर आईजीपी कार्की छन् ।
उनले भने–‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ । आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको ? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ?’
वर्तमान सरकारले नै विभिन्न नामका जेनजी समूह खडा गरेर तमासा देखाएको दावी गरेका उनले यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको बताए ।
उनले भने–‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेनजीको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ ।’
बिना पैसा जेनजीको नममा चलाइएको नाटक हेर्न पाइएको भन्दै उनले भने–‘जेनजीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ । मलाई थाहा छ त्यो जेनजीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ ।’
ओलीले प्रतिनिधिसभा अविलम्व पुनःस्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए ।
अहिले पनि जेनजी भनेर १०–२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्याउने भन्दै भन्न लगाइएको आरोप लगाउँदै उनले भने–उनीहरूमा आवेश र उत्तेजनामात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ ।’