पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन ‘सर्वदलीय सहमति’ अपरिहार्य भएको बताएका छन् । सोमबार पोखरा नगर अधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
लिङदेनले राप्रपाले राष्ट्रिय पहिचान, आर्थिक स्थिरता र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार विपक्षीको भूमिका निर्वाह गर्ने बताए ।
देश अहिले गहिरो अनिश्चयमा रहेको हुँदा राजा, जेनजी समूह र राजनीतिक दलहरू एउटै टेबुलमा बसेर राष्ट्रको हितका लागि साझा मार्गचित्र बनाउनुपर्ने आवाज राप्रपा नेताहरूले चर्को रूपमा उठाए ।
अहिले गठन भएको अन्तरिम सरकारलाई चेतावनी दिँदै राजा, जेनजी समूह र सबै राजनीतिक दलहरूलाई समेटेर सर्वदलीय सम्मेलन आयोजना गर्न लिङदेनले आग्रह गरे ।
उनका अनुसार, राज्य शक्तिहरूबीच आपसी अविश्वास बढ्दै गएको र राजनीतिक नेतृत्वबाट समाधान आउने आशा कमजोर बन्दै गएको अवस्थामा राष्ट्रलाई स्थायित्व दिने एकमात्र उपाय सबै पक्ष बीचको खुला संवाद र सहमति रहेको स्पष्ट पारे ।