गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको हितविपरीत गतिविधिमा संलग्न व्यक्तिहरू पार्टीभित्र बसिरहनु उपयुक्त नहुने बताएका छन्।
राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी छोड्ने घोषणा गरेका केही नेताहरूप्रति लक्षित गर्दै राप्रपाको भविष्यप्रति आशंका नगर्न कार्यकर्तालाई आग्रह गरे।
अध्यक्ष लिङ्देनले पार्टीको नेता र कार्यकर्ताको पहिलो जिम्मेवारी पार्टीलाई बलियो बनाउने र निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने भएको उल्लेख गर्दै उम्मेदवारीको आकांक्षा देखाउने तर चुनावी मैदानमा नउत्रिने तथा मतदान प्रक्रियामा समेत सहभागी नहुने व्यक्तिहरूले पार्टी छाडेको भन्दै प्रचार गर्नु हास्यास्पद भएको टिप्पणी गरे।
उनले गोरखाकै एक युवाको उदाहरण दिँदै उम्मेदवार बन्ने इच्छा व्यक्त गरे पनि टिकट लिन र चुनावी अभियानमा सहभागी हुन नआएको प्रसंग उल्लेख गरे। यस्ता व्यक्तिहरूले पार्टी छाडेको घोषणा गरेर चर्चा खोज्नुको कुनै औचित्य नरहेको उनको भनाइ थियो।
लिङ्देनले नेतृत्व परिवर्तनको बहसलाई पनि संकेत गर्दै उमेर र क्षमताभन्दा बाहिर गएर नेतृत्व हस्तान्तरणको माग गर्नु समयसापेक्ष नभएको बताए। उनले पार्टीलाई स्पष्ट कार्यदिशा, कार्यक्रम र भविष्यको मार्गचित्र दिन सक्ने नेतृत्व आवश्यक रहेको धारणा राखे।
पार्टीभित्र बसेर अर्काको स्वार्थअनुसार चल्ने र संगठनलाई कमजोर बनाउने प्रवृत्तिले राप्रपाको विकास सम्भव नहुने भन्दै त्यस्ता व्यक्तिहरू बाहिरिनु नै पार्टीका लागि हितकर हुने उनको भनाइ थियो।
राष्ट्रवादी शक्ति कमजोर नहुने दाबी गर्दै अध्यक्ष लिङ्देनले देशभरका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई विचलित नहुन आग्रह गरे। उनले राप्रपा अझ सशक्त र संगठित रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रवादी शक्तिको आवश्यकता झन् बढ्दै गएको दाबी गरे।