काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न आग्रह गरेका हुन् ।
उनले भने- 'नेपालमा कुन प्रकारको वैदेशिक हस्तक्षेप, कुन प्रकारको विदेशीहरुको चलखेल भएको छ भन्ने तपाई काठमाडौबासीहरुले देख्नुभएको छ । त्यसकारण लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य विगार्ने काममा आफ्नै हातलाई प्रयोग नगर्नुस्।'
उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए ।
उनले भने- 'यो पटकको निर्वाचन एक थान सांसद चुन्ने मात्रै होइन । हामी अहिले देशै रहन्छ कि रहँदैन भन्ने अवस्थामा छौँ । त्यसकारण देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर तपाई हरेक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुभन्दा अगाडी हजार पटक सोचेर मात्रै मतदान गर्नुस्।'
वैदेशिक हस्तक्षेप र विदेशी चलखेलप्रति काठमाडौंवासी सचेत रहेको दाबी गर्दै उनले देश जोगाउन तथा काठमाडौं–२ सहित देशभर विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन समेत आह्वान गरे ।