जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात राजनीतिक दलले मधेस भवनअगाडि दिनहुँ धर्ना दिइरहेको अवस्थामा नेकपा एमालेसमेत आजदेखि विरोध प्रदर्शनमा उत्रेका छन्।
एमालेले संवैधानिक तवरले नियुक्त गरिएको मुख्यमन्त्री यादवलाई कामकाज गर्न दिन माग गर्दै जनकपुरमा धर्ना सुरु गरेका हो।
एमालेले ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’, ‘संविधानको रक्षा गर’जस्ता नारा लगाउँदै युवाहरूको अग्रसरतामा धर्ना सुरु गरिएको नेकपा एमालेसबद्ध युवाहरूले जानकारी दिएका छन्।
गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री यादवले सात दलीय गठबन्धनको विरोधले काम गर्न पाएका छैनन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले मधेसकेन्द्रित दलहरूका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। यादवले मधेसकेन्द्रित दलहरूले संविधान र संघीयता रक्षाको नाममा वितण्डा मच्चाउन खोजेको आरोप लगाएका छन्।
मंगलबार बिहान सात राजनीतिक दलले समेत मधेस भवनअगाडि धर्ना दिएका छन्। प्रदेशसभा सदस्यहरूसहित सात राजनीतिक दलले बिहान मधेस भवनअगाडि धर्ना दिएका हुन्।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले सर्वोच्च अदालत र सडक दुवैमार्फत एकसाथ अगाडि बढेको बताएका छन्।