काठमाडौं । पछिल्लो समय औषधी पसलहरु(फर्मेसी) को लापरवाहि बढ्दै गएको पाइएको छ । फार्मेसी पसलहरुले नियम पालना नगर्दा लाइसेन्स (इजाजतपत्र) खारेज हुनेको संख्या बढिरहेको छ ।
औषधि व्यवस्था विभागले कानून विपरित सञ्चालन भइहरेका र नियम पालना नगर्ने फार्मेसीको लाइसेन्स खारेज गर्दै आएको छ । विभागले निरीक्षणका आधारमा आवश्यक मापदण्ड तथा नियम पालना नगर्ने फार्मेसीहरुको लाइसेन्स खारेज गर्दै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गएको तीन वर्षमा ८०२ फार्मेसीको लाइसेन्स रद्द भएको बताए।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३३९ फार्मेसीको निरीक्षण हुँदा १८१ पसल निलम्बनमा परेको थियो। भने २०८०/८१ मा ३ हजार ३०० पसलको निरीक्षण हुँदा ३०१ र २०८१/८२ मा २ हजार ७९१ निरीक्षण हुँदा ३२० पसलको लाइसेन्स निलम्बनमा परेको विभागको तथ्यांक छ।
व्यवसायी नै फार्मेसिमा नबसिदिने, एउटै व्यवसायीले धेरै फार्मेसीहरु लिने, आफ्नो नाममा फार्मेसी दर्ता गरेर अरुलाई चलाउन दिने, औषधिको तापक्रम मिलाएर नराख्ने, सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने औषधीहरु स्वीकृतीविनै विक्री वितरण गर्ने जस्ता कामले फार्मेसी पसलहरु निलम्बनमा पर्दै आएको विभागको भनाई छ ।