काठमाडौं । केशरमहलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
केशरमहलको दक्षिण गेटबाट केशरमहलतर्फ जाँदै गरेको बा। प्र.०१-०३० च २३४८ नम्बरको नेटा इभी कारले ठक्कर दिँदा ड्युटीमा रहेका ट्राफिकप्रहरी र पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।
घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका-१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका रहेका छन् ।
घाइतेमध्ये ट्राफिक प्रहरीको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए । घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।
तर, घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्राफिक प्रहरीलाई भने त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।