काठमाडौं । जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी स्थापना भएको एक महिनामै राजीनामा दिँदै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । आजपामा उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमले सामाजिक सञ्जालमार्फत जनादेश पार्टी छाडेर आजपामा आबद्ध भएको पुष्टि गरेकी हुन् ।
फेसबुकमा उनले लेखेकी छन्, “म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”
अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन भएको जनादेश पार्टीको केन्द्रीय सदस्य सूचीमा रहेकी गौतम २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गर्न समेत पुगेकी थिइन् । तर बुधबार उनले उक्त पार्टी परित्याग गर्दै आजपामा आबद्ध हुने निर्णय गरेकी हुन् ।
आजपामा प्रवेशसँगै गौतमले पार्टीलाई सबल र जनप्रिय बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आफ्ना प्राथमिक ‘एजेन्डा’ सार्वजनिक गरेकी छन् ।
उनका अनुसार देशमा विकासको पहल गर्ने, नेपाललाई समृद्ध बनाउने, भ्रष्टाचारविरुद्ध कडा कारबाही, सुशासन स्थापना, भुइँमान्छेको पक्षमा उभिने, पीडितलाई न्याय दिलाउने, महिला सशक्तीकरण र मजदुरको हितमा काम गर्ने उनका मुख्य एजेन्डा रहनेछन् ।