Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि, बालेन र कुलमान एकता चर्चाबारे प्रदीप ज्ञवाली भन्छन् - स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ

रवि, बालेन र कुलमान एकता चर्चाबारे प्रदीप ज्ञवाली भन्छन् - स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ

शनिवार , पौष १२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहेका बेला नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले त्यसलाई सकारात्मक रूपमा लिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ज्ञवालीले विचार मिल्नेहरू एक ठाउँमा उभिनु लोकतान्त्रिक अभ्यासका लागि राम्रो भएको बताएका हुन् । यद्यपि त्यो एकता विचारका आधारमा हो वा स्वार्थका कारण भन्ने विषय समयले बताउने उनको भनाइ छ ।

‘त्यसमाथि, सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो,’ ज्ञवालीले लेखेका छन्।

तर पछिल्लो समय बाक्लिएको भेटघाटलाई लिएर भ्रामक तरंग सिर्जना गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन्। उनले दक्षिण भारतीय चलचित्रको उदाहरण दिँदै कुनै नायक मञ्चमा उत्रिएपछि सबै समस्या समाधान हुन्छ भन्ने जस्तो ‘तिलस्मी’ कथा निर्माण गरिँदैछ भनेका छन्।

‘ती व्यक्तिहरूको मिलनले त्यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाइँदैछ,’ उनले लेखेका छन्, ‘तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्‍याउँदैन।’

ज्ञवालीले देश निर्माण व्यक्तिमा मात्र नभई विचार, संस्था, प्रणाली र सामूहिकतामा आधारित हुनुपर्नेमा जोड दिएका छन्। शासन प्रणाली, आर्थिक नीति, सामाजिक प्रबन्ध, भू–राजनीति, जलवायु परिवर्तन र संविधानका विषयमा स्पष्ट विकल्प नदेखिएको भन्दै उनले अहिले देखिएको प्रवृत्तिलाई नकारात्मकता, निषेध र घृणामा सीमित भएको टिप्पणी गरेका छन्।

मिडियामाथि पनि कटाक्ष गर्दै उनले दुई दशकअघि ‘जनसरकार’ घोषणाको बेला भएको ‘मिडिया हाइप’ स्मरण गराए र अहिलेको उत्साह पनि कपुरको बास्नाझैँ विलोप हुने चेतावनी दिए।

‘घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो लामो दौडले तय गर्छ,’ ज्ञवालीले लेख्दै समाजलाई भावनात्मकभन्दा तर्कसंगत बन्न अपिल गरेका छन्। ‘स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ,’ उनले चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077