काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेसलाई आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले दलहरूको नीति, भूमिका र आन्तरिक प्रबन्धनले लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पार्ने उल्लेख गरेका हुन् ।
उनले प्रमुख राजनीतिक दलहरू आन्तरिक रूपमा कमजोर वा विभाजित हुँदा त्यसको प्रत्यक्ष मूल्य लोकतन्त्रले नै चुकाउनुपर्ने बताए ।
'प्रमुख दलहरू आन्तरिक रूपमा कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखेका र भोगेका छौँ,' ज्ञवालीले लेखेका छन्।
उनले विगतका राजनीतिक घटनालाई स्मरण गर्दै २०५४ सालमा भएको नेकपा एमालेको विभाजनले कसरी हिंसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी रूपमा फैलिन सहयोग पुर्यायो र २०५९ सालमा भएको नेपाली कांग्रेसको विभाजनले कसरी राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दिएको थियो भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छन्।
लोकतन्त्रको सुदृढताका लागि दलहरूको आन्तरिक स्वास्थ्य सुदृढ हुनु अनिवार्य शर्त भएको बताउँदै ज्ञवालीले वर्तमान अवस्थामा लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती देखिएको उल्लेख गरेका छन्।
'यस्तो संवेदनशील अवस्थामा नेपाली कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक जिम्मेवारीलाई बोध गर्दै आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ भन्ने आशा गरौँ,' उनले लेखेका छन्।
नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा तीव्र विवाद चर्किँदै गएको र पार्टी दुई धारमा विभाजित देखिन थालेको पृष्ठभूमिमा ज्ञवालीको यो अभिव्यक्ति आएको हो।
यही विवादका बीच कांग्रेस नेता गगन थापाले ‘पार्टी फुट्ने प्रश्न अब मलाई नगर्नू’ भन्दै सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन् ।