काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, भूमि आयोगका तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोग कास्कीका तत्कालीन सदस्यहरु आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम बहादुर नेपाली र भिम बहादुर बिकविरुद्ध मुद्दा दायर गरेको हो ।
नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा आयोगले उनीहरुविरुद्ध आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले गैरसुकुम्बासीलाई झुटा विवरणका आधारमा सुकुम्बासी बनाएको देखिएको जनाएको छ । भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा जग्गा लिएको भन्दै अख्तियारले एक करोड ४० लाख रुपैंया हानीनोक्सानी भएको दावी गरेको छ । आयोगले जग्गा पाउने भीमबहादुर विकलाई पनि मुद्दा चलाएको छ ।
भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी लिचीबारी जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबिच भूमी आयोग कास्कीका प्रमुख नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भएको थियो ।
त्यतिबेला उनीहरुविचको संवादमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस खाई कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको कुराकानी बाहिरिएको थियो ।
त्यही कुराकानीमा प्रसंग निस्किएको भूमी आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल सहित सबै पदाधिकारीहरु भ्रष्टाचार मुद्दामा परेका हुन् ।
पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको आरोप छ ।
आयोगले दायर गरेको आरोप पत्रमा भनिएको छ–‘प्रतिवादीहरुले बदनियत राखी गैरसुकुम्वासी भिम बहादुर वि.क.लाई भूमि सम्बन्धी ऐन, 2021 को दफा 52क. को उपदफा (1), भूमि सम्बन्धी नियमहरु, 2021 को नियम 41ख. राष्ट्रिय भूमि आयोग, गठन आदेश, 2078 र यस सम्बन्धी कार्यविधिहरु विपरीत जग्गा दिने निर्णय गरी गराई, जग्गा धनी श्रेष्ता पूर्जाको प्रमाण संकेतमा विगतको सुकुम्बासी समस्या समाधान आयोगको अधुरो काम अन्तर्गत सुकुम्बासी समस्या समाधान आयोग, जिल्ला समिति, कास्कीले मिति 2052/5/12 मा निर्णय गरी कित्ताकाट भई निर्णय कार्यान्वयन हुन बाँकी रही अधुरो रहेको झुट्टा ब्यहोरा उल्लेख गरी गराई साविक कन्धानीडाँडाँ गाउँ विकास समिति वडा नं.4 कि.नं. 725 क्षेत्रफल 3-3-0-0 रोपनी जग्गाको श्रेस्ता/पूर्जा मिति 2080/12/5 मा मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीबाट प्रमाणित गरी गराई जग्गाधनी प्रमाण पूर्जा समेत उपलब्ध गराएकोमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका अध्यक्ष गंगा प्रसाद पोख्रेलले श्रेस्ता लागू गर्न पत्राचार गरे गराएको देखिएको छ ।'